बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
२३ भदौ, दाङ। बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये २ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए । उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन् । उनीहरू दाङ भ्रमणबाट फर्किँदै थिए ।