पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष पक्राउ
२४ वैशाख, पोखरा ।
कास्कीको पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । पराजुलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए ।
वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका एक कर्मचारी र पन्थी गल्लीका एक व्यवसायीमाथि हातपात गरेका थिए । यद्यपि, उनले आफूले प्रतिरक्षा मात्र गरेको दाबी गर्दै आएका छन् । कुटिएका व्यवसायीले वडा कार्यालयमा नै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए भने मंगलबार साँझ कास्की प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।मंगलबार वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन महाशाखाका सातौँ तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरूले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । “‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकमा क्रियाशील कर्मचारी संगठनहरूको तर्फबाट घोर भर्त्सना गर्दछौँ ।
उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घन्टाभित्र कानुनबमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ, अन्यथा मिति २०८२ वैशाख २४ गतेदेखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ । कर्मचारीहरूकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरूमा समेत काम प्रभावित भएको छ । स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले मंगलबार नै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरूकै अग्रसरतामा आन्दोलन भएको हो । कर्मचारीहरूको जाहेरी भने प्रहरीमा हालसम्म गएको छैन ।
Post Comment