धनुषापछि पर्वतमा पनि एमालेको कुटाकुट, तीन जना घाइते
२४ वैशाख, काठमाडौं ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ पर्वतको भेलामा दुई पक्षबीच झडप भएको छ । झडपमा परी युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहित तीन जना घाइते भएका छन् । पार्टी कार्यालयमा भएको भेलामा अधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा विवादमा हुँदा विवाद सुरु भएको थियो । युवा संघका जिल्ला अध्यक्ष विनोद थापासहितका नेताहरु अधिवेशन नगर्ने र पार्टीका जिल्ला अध्यक्ष गोविन्द गिरी निकटका युवाहरु अधिवेशन गर्ने पक्षमा थिए ।सोही विषयमा कुरा नमिल्दा दुई समूहबीच हातपात भएको बुझिएको छ ।
यद्यपि, प्रहरीले तत्काल दुवै पक्षका नेताहरुलाई छुट्याएको थियो ।कार्यक्रमस्थलमा अहिले प्रहरी निरिक्षक रामप्रसाद सापकोटा नेतृत्वको प्रहरी टोली परिचालित भएको छ । हिजो मात्रै धनुषामा पनि पार्टीको जिल्ला अधिवेशनमा दुई समूहबीच झडप हुँदा स्थानीय नेता सत्यनारायण महासेठ र रामेश्वर दासको टाउको फुटेको थियो । महासेठको टाउकोमा तीन र दासको टाउकोमा दुई टाँका लगाइएको थियो । पार्टीका केन्द्रीय सदस्य रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबीच पदाधिकारी पदको लागि विवाद हुँदा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका नेता सुरेन्द्र भण्डारीको समूह रड बाेकेर आक्रमणमा उत्रिएको थियो ।
Post Comment