डिसहोम क्रिकेटको उपाधी राजश्रीलाई
सुनिल ठाकुर ।
१७ माघ, सर्लाही । सर्लाहीको मलंगवामा आयोजना गरिएको डिस होम करपोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सिजन ३ को उपाधी राजश्री सेभिङ्ग को अपरेटिभ सोसाइटी लिमिटेडले जितेको छ ।
डिसहोमले आयोजना गरेको प्रतियोगिताको बिहीवार भएको फाइनल खेलमा कामना विकास बैंकलाईलाई पराजित गर्दै राजश्रीले उपाधी हात पारेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेका राजश्री निर्धारित ५ ओभरको खेलमा ३ विकेटको क्षतिमा ४८ रन बनाएका थिए । राजश्रीका लागि प्रविण यादवले सर्वाधिक ३३ रन बनाएका थिए । कामना विकास बैैंकका लागि संजोग शर्माले सर्वाधिक २ विकेट लिएका थिए ।
जवाफमा व्याटिङ्ग गर्न आएका कामना विकास बैंकले ५ ओभरमा ५ विकेट गुमाउँदै ४७ रन बनाएका थिए । कामनाका लागि अजय चौधरीले सर्वाधिक २८ रन बनाएका थिए । राजश्रीका लागि रजनिश यादवले सर्वाधिक २ विकेट लिएका थिए । फाइनल खेलको म्यान अफ द म्याच राजश्रीका प्रविण यादव भएको प्रयोगिताका आयोजक लक्ष्मी इन्टरप्राइजेजका संचालक सुवाश गुप्ताले जानकारी दिएका छन् ।
विजेता टिमलाई ट्रफी, प्रमाण पत्र तथा डिसहोमको तर्फबाट २ सय एम वि पी एसको ३ महिनाको नेट फ्री दिएको छ । त्यसैगरी उपविजेतालाई ट्रफी, प्रमाण पत्र र दुई सय एम वि पी एसको ३ महिनाको नेट फ्रि दिएको गुप्ताले बताएका छन् । बुधवारदेखि मलंगवाको कर्वड हलको खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा सर्लाही सदरमुकाम मलंगवाका १० वटा वित्तिय संस्थाको सहभागिता रहेको थियो ।
Post Comment