डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना
२७ भदौ , कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परे ।अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको आरोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो । जहरसिँह खुकुरीसहित पक्राउ परेको प्रहरीले जनाएको छ । सम्बन्ध विच्छेदको मुद्दालाई लिएर महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।राधिका र उनका श्रीमान जहरसिँहबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो । राधिकाले यसअघि पनि मौखिक रूपमा जहरसिंहविरुद्ध तीनपटकसम्म जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन्। हत्याको दिन पनि राधिका जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेकी थिइन् ।श्रीमान्सँग बस्न सक्दिनँ, मेरो सरसामान श्रीमान्ले दिए म अन्तै गएर बस्छु भन्दै उनी प्रहरीमा पुगेकी थिइन् । प्रहरीले थप अनुसन्धान गर्दा उनीहरुको डिभोर्सको मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको पाएको जनाएको छ । अन्य मुद्दा नहाल्ने र सम्बन्ध विच्छेदकै प्रक्रिया अगाडि बढाउने राधिकाकै चाहनाले कारबाही प्रक्रिया अगाडि नबढाइएको प्रहरीले जनाएक छ । प्रहरीले जहरसिंहविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गर्न सुझाव दिँदा राधिकाले भने सम्बन्ध विच्छेद गर्छु, मुद्दा हाल्दिनँ भन्दै नमानेको प्रहरीको भनाइ छ ।तर, जहरसिंहले अदालतको आदेश नआउँदासम्म सँगै बस्ने भन्दै राधिकालाई छाड्न मानेका थिएनन् । राधिका व्यवसाय गर्दै आएकी थिइन् भने विदेशाटछ आएपछि उनका श्रीमान करिब १ वर्षदेखि बेरोजगार थिए ।जहरसिंह भने लामो समय कतारमा बसेर आएका थिए भने पछिल्लो समय डिप्रेसनको औषधिसमेत सेवन गरिरहेको पाइएको प्रहरीले जनाएको छ । जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुका एक नाबालक छोरा पनि छन् ।
Post Comment