गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
२४ कार्तिक, भैरहवा । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् ।
निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । ‘गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरूको आकर्षण पनि बढ्नेछ,’ उनले भने
साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान शुरू गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।
उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ । यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिए । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौं भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो।
Post Comment