कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
काठमाडौँ- भारतको कोलकत्तास्थित के आरजी कर मेडिकल कलेज एवं अस्पतालमा चिकित्सकको बलात्कार–हत्याका मुख्य आरोपी सञ्जय रोयलाई जन्दकैदको सजाय सुनाइएको छ। यसका साथै अदालतले रोयलाई पचास हजार रूपैयाँ जरिवानासमेत तोकेको छ।
जिल्ला एवं सत्र न्यायाधीश अनिरबन दासले घटनाका अभियुक्त रोयलाई जन्दकैदको सजाय सुनाएका हुन्। अदालतले पीडित चिकित्सकको परिवारलाई राहतस्वरूप १७ लाख रूपैयाँ उपलब्ध गराउन राज्य सरकारलाई निर्देशन पनि दिएको छ। अदालतले आजीवन कारावासको सजाय सुनाए पनि रोयले भने आफू निर्दोष रहेको विनाकारण फसाइएको दाबी गरेका छन्। के आरजी कर कलेजकी प्रशिक्षार्थी महिला चिकित्सकको गत अगस्तमा सेमिनार कक्षमा बलात्कारपछि हत्या भएको थियो।
घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कोलकत्ता र भारतका अन्य ठाउँमा प्रदर्शन गरेका थिए। चिकित्सकलाई बलात्कारपछि हत्या गरेको आरोपमा रोयलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो। उनी सीसीटीभी फुटेजको आधारमा पक्राउ परेका थिए। अदालतले उनलाई गत शनिबार दोषी ठहर गरेको थियो। रोयविरूद्धको मुद्दामाथिको सुनुवाइ द्रूत गतिमा अघि बढाइएको थियो।
Post Comment