एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
२१ असोज, काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेका एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपियाँँ सहयोग गरेको छ ।
एसजेवीएनले अविरल वर्षका कारण बाढीपहिरो र डुबानमा परेकाहरूलाई राहत उपलब्ध गराउन उक्त रकम सहयोग गरेको हो । कम्पनीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमै पुगेर चेक हस्तान्तरण गरेको हो । एसजेवीएनका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्मा, प्रमुख वित्तीय अधिकृत ओडी चौधरी, उपमहाप्रबन्धक गौरव सुद र कम्पनी सचिव सुजित कुमार झाले प्रधानमन्त्रीलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
अविरल वर्षाले गर्दा देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षतिको विषयलाई मध्यनजर गर्दै राहत स्वरुप सो रकम सरकारलाई उपलब्ध गराएको एसजेवीएनका सचिव सुजितकुमार झाले बताए । एसजेवीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ ।
तीव्र गतिमा निर्माण भइरहेको अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ । झाका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत सकिएको छ । कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ । यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
Post Comment