एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा, अर्को पेसी फागुन १५ गते
१९ मंसिर, काठमाडौँ । एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा परेको छ । ठुला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरका सम्बन्धमा सर्वोच्चमा विचाराधीन मुद्दा स्थगितमा परेको हो ।
मंगलबार सर्वोच्च अदालतमा गोला तान्ने क्रममा एनसेलको विवादित लाभकर सम्बन्धी मुद्दाको पेशी सूची कुनै पनि उपलब्ध न्यायाधीशले नतानेपछि मंगलबार पनि स्थगितमा परेको हो । अब उक्त मुद्दाको अर्को पेशी फागुन १५ गतेलाई तोकिएको छ । स्वीडीस कम्पनी टेलियासोनेरासँग मलेसियन कम्पनी एनसेलले सेयर खरिद गर्दा लाभकर छलेको भन्दै ठुला करदाता कार्यालय ललितपुरले एनसेललाई ५७ अर्ब लाभकर तिर्नुपर्ने भनी निर्धारण गरेको थियो । ठुला करदाता कार्यालयले निर्धारण गरेको लाभकरमा चित्त नबुझाएर एनसेलले आन्तरिक राजश्व विभागका महानिर्देशक समक्ष निवेदन दिएपनि ठुला करदाता कार्यालयकै निर्णय सदर भएको थियो । त्यसपछि आफूले त्यति धेरै कर तिर्नु नपर्ने भन्दै एनसेल राजश्व न्यायाधिकरणमा पुगे पनि राजश्व न्यायाधिकरणले समेत एनसेललाई हराइदिएको थियो । त्यसपछि एनसेल २०७७ पुष २६ गते सर्वोच्च अदालत पुगेको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।