इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायल आक्रमणबारे संसदमा जानकारी गराएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी गराएका हुन्। नेपाली राजदूतावासका अनुसार इजरायलमा हालसम्म ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए। २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत् गएका थिए।
मन्त्री साउदका अनुसार कृषि विश्वविद्यालयबाट ११९,त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरू गएका थिए। उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्लायबाट गएका १७ विद्यार्थीहरू दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययरत थिए। नेपाली दूतावासका अनुसार सुदूरपश्चिम विश्वविद्लायबाट गएका विद्यार्थीमध्ये आक्रमणमा परी ३ जना घाइते भएका छन् भने २ जना सकुशल रहेको मन्त्री साउदले जानकारी दिए।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी रहेका १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने आशंका गरिएको छ। यो स्थान गाजा क्षेत्रबाट नजिक रहेको र त्यहाँ हमास समूहले आक्रमण गरिरहेको छ। शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलका विभिन्न सहरमा आक्रमण गरिरहेका छन्।इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले रकेट प्रहार गरिरहेको छ। यहाँ आक्रमणबाट २५० जना इजरायली र २३० जना प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ। ३ हजार बढि मानिस घाइते भएको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन्।