आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
१५ साउन । १७औँ संस्करणको पुरुष एसिया कप क्रिकेट प्रतियोगिता भारतमा आयोजना हुने भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आउँदो वर्ष हुने एसिया कप भारतले आयोजना गर्ने जनाएको हो । उक्त एसिया कप टी–२० ढाँचामा आयोजना हुनेछ । सन् २०२६ को टी–२० विश्वकपको तयारीस्वरूप २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुने भएको हो । यसअघि सन् २०१६ मा पनि एसिया कप टी–२० ढाँचामा आयोजना गरिएको थियो । गत संस्करणमा भने एकदिवसीय फर्म्याटमा एसिया कप खेलाइएको थियो । खासमा पाकिस्तानमा प्रतियोगिता हुनुपर्ने भए पनि भारतीय टिम त्यहाँ जान मानेन । त्यसपछि केही महत्वपूर्ण खेल श्रीलंकामा खेलाइयो । गत संस्करणको एसिया कपमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो ।
नेपालले समूह चरणअन्तर्गत पाकिस्तानसँग मुल्तानमा तथा भारतसँग श्रीलंकाको पल्लेकेलेमा खेलेको थियो । नेपाल दुवै खेलमा पराजित भयो । पहिलो खेलमा पाकिस्तानको सामना गरेको नेपाल २ सय ३८ रनले पराजित भयो । पाकिस्तानले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो । पाकिस्तानसँग नेपालको सिनियर टिमको यो पहिलो प्रतिस्पर्धा थियो । दोस्रो खेलमा भारतविरुद्ध १० विकेटको हार बेहोरे पनि नेपालले ब्याटिङमा सुधार गर्यो । उक्त खेलमा पहिला ब्याटिङ गर्दै नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन बनायो । उक्त म्याचमा नेपालका ओपनिङ ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलले आक्रामक सुरुवात गर्दै भारतीय बलरलाई दबाब दिएका थिए । सो खेलमा आसिफले ५८, कुशलले ३८, सोमपाल कामीले ४८, दीपेन्द्र सिंह ऐरीले २९ र गुलशनकुमार झाले २३ रन जोडे ।
भारतको सिनियर टिमविरुद्ध नेपालले कुनै पनि प्रतियोगितामा खेलेको यो पहिलो म्याच थियो । आउँदो संस्करणको एसिया कपमा भने नेपाललाई देख्न पाइने छैन । गत अप्रिलमा भएकोमा एसिसी प्रिमियर कप सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । ओमानमा भएको उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा खुम्चियो । सन् २०२३ मा भएको प्रिमियर कपको फाइनलमा भने नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसिया कपको यात्रा गरेको थियो ।
Post Comment