अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
३ कार्तिक, काठमाडौं: झापा, भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित हल्दिबारी गाउँपालिका-२ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राजवंशीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-१२ प्रगती टोलबाट अवैध लागूऔषध गाँजा १ सय ५० ग्राम र स्पास्मो ५० ट्याव्लेट सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने त्रियुगा नगरपालिका-१२ फूलचोक बस्ने २० वर्षीय रूपन लिम्बु, सोही नगरपालिका-१३ असारीका ३५ वर्षीय मलिन थापा, ३६ वर्षीय संजिव थापा र सोही नगरपालिका-११ बस्ने २८ वर्षीय असिम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Post Comment