यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
५ पुस, काठमाडौं – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोली बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा रहेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् ।
सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग नतिजा विहीन खेल खेलेको थियो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपालले श्रीलंकासँग अंक बाडेको थियो । सुपर फोरको पहिलो खेलमा भने बंगलादेश भारत यु १९ सँग ८ विकेटले पराजित भएको थियो । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । श्रीलंका भने बंगलादेशसँग पराजित हुँदा मलेसियालाई हराएको थियो ।
पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर ४ मा स्थान बनाएको हो । सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल आइतवार हुनेछ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।
नेपाली टोली ,सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।
Post Comment