फाइनल पुग्न जनकपुरले पायो ११९ रनको लक्ष्य
४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११८ रनको योगफल खडा गरेको हो ।
कर्णालीका अलराउन्डर गुल्सन झाले सर्वाधिक ३५ रन बनाए । १७औँ ओभरको पहिलो बलमा मोहमद मोहसिनबाट बोल्ट हुनुअघि गुल्सनले २० बलमा एक चौका र दुई छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रन जोडे । देवलाई छैटौँ ओभरको पहिलो बलमा जिम्मी निसमले आकाश त्रिपाठीबाट क्याच गराए । यसबाहेक, विलियम बोसिस्टोले १५ बलमा एक चौकासहित १४ रन बनाए । जिसान मक्सुदले ११ बलमा दुई चौकासहित १२ र चान्डविक वाल्टनले १३ बलमा एक चौकासहित ११ रन थपे ।
कर्णालीविरुद्ध जनकपुरका ललितनारायण राजवंशी, मोहमद मोहसिन र जिम्मी निसमले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका ललितले २२ रन खर्चिए । चार ओभर नै बलिङ गरेका मोहसिनले एक मेडन फ्याँक्दै १४ रनमात्र खर्चिए । यसबाहेक, हर्ष थाकेर र शेर मल्लले समान एक विकेट लिए । प्रतियोगितामा जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।
आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरेको थियो । लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
Post Comment